Friday, May 21, 2010

Sabin rai is the best

सविन राईको रंगमञ्चको रंग

गायकः सविन राई

एल्बमः रङ्गमञ्चको रङ्ग

विधाः पप/रक

लेबलः रियाज म्युजिक


जोसिलो कन्सर्ट पर्फर्मेन्सले दर्शकलाई मन्त्रमुग्ध बनाउने गायक सविन राई 'रङ्गमञ्चको रङ्ग' लिएर आएका छन् । आफ्नै शब्द, संगीत र स्वरमा नयाँ रङ्ग भर्दै उनले यो एल्बमबाट फेरि आफ्ना श्रोतालाई मायाजालमा पारिरहेका छन् । नेपाली संगीत क्षेत्रबाट केही समय हराएका यी गायकले नयाँ जोश र जाँगरका साथ श्रोतामाझ सफल उपस्थिति जनाएका छन् ।


बच्चैदेखि गायक बन्ने सपना देखेका सविनको 'रङ्गमञ्चको रङ्ग' चौथौ एल्बम हो । आठवटा गीतहरु रहेको यस एल्बममा उनले तीन वर्ष अथक मेहनत गरेका थिए । उनको मेहनतले रङ्ग ल्याएको छ । उनले 'कोमल त्यो तिम्रो...' गीतबाट आधा दशकअघि सुरु गरेको जादु जीवित बनाएका छन् ।


सविनले एल्बममा समावेश हरेक गीतबाट श्रोतासँग दरिलो सम्बन्ध गाँसेका छन् । त्यसैले श्रोता उनको गीतमा रहेका भावना सजिलै अनुभव गर्न सक्छन् । सविनको खुशीमा खुशी, दुखमा दुखी हुँदै उनको संगीतमा उनीसँगै झुमेका छन् । यसरी गीतको भावना अनुसार श्रोताको 'मुड स्वीङ' गराउने क्षमता राख्ने गायक नेपाली पपमा कमै छन् ।


नारायण गोपाल, अरुण थापा, रड स्टेवार्ड र ब्रायन एडम्स जस्ता गायक मनपराउने ३६ वर्षे गायकले कुनै सांगीतिक ट्रेनिङ लिएका छैनन् । तर आफ्नो नौलो स्वरका कारण उनी चर्चामा छिटो आए । नेपालमा सुनिइँदै आइएका रक/पप शैली र स्वरभन्दा फरक धार पछ्याएका उनी दुईपटक सम्म रेकर्डिङ स्टुडियोबाट अस्वीकृत भएका थिए । 'तिम्रो माया' बोलको गीत विस २०५० मा रेकर्डिङ गरेर संगीत क्षेत्र छिरेका गायक गीत/संगीत कम्पोज गिटारमा गर्छन् । 'रङ्गमञ्चको रङ्ग' मा पनि गिटारको बढ्तै प्रयोग भएको छ ।


हस्की स्वरको कारण 'नेपालका ब्रायन एडम्स' उपनाम पाएका सविनले एल्बमको म्युजिक स्टाइलमा हल्का भिन्नता ल्याएका छन् । इलेक्टि्रक गिटार र ड्रमको धेरै प्रयोगले उनको हाई पिच स्वरलाई सुहाउँदो छ । रक फ्युजनको फास्ट बिटमा हल्का रेगे प्रयोगले पनि उनको शैलीमा केही भिन्नता देखाएको हो । तर, सन् २००१ मा रिलिज भएको सफल दोस्रो एल्बम 'सतह' को आफ्नो शैलीलाई उनले चटक्कै माया भने मारेका छैनन् तर त्यसैमा टाँसिएका पनि छैनन् । यसले उनको म्युजिकमा नयाँ स्वादका साथै ताजापन दिएको छ ।


एल्बममा सबै गीतका शब्द सामान्य भए पनि चट्ट हृदय छुइहाल्छन् । सरल र हृदय छुने यी शब्द सविनले हृदयबाट गाएका छन् । कति श्रोतालाई सुरुमा सुन्दा केही खास नलाग्न सक्छ तर सुन्दै जाँदा सबै गीत लत लाग्ने खालका छन् । यसले झन् सुनिरहु लाग्ने बनाउँछन् ।


माया र प्रेमले रङ्गीन जीवनका अनुभवलाई समेटेका गीतमा 'दुई थँगा' र 'मलाई अंगाली देऊ' हाल म्युजिक चार्टमा उत्कृष्ट ठहरिएका छन् । 'तिम्रो लागि म,' 'कहाँदेखि कहाँसम्म,' 'जब तिमी आयौ,' 'सधै तिम्रो लागि' बोलका गीतहरुले पनि उत्तिकै मन छुन्छन् । उनका यी गीतले श्रोतामा रहेका व्यक्तिगत भावना जीवित पार्ने शक्ति राख्छन् । यसका साथै गीत/संगीत 'लाइभ्ली' भएकाले मनोरञ्जनका साथै उनीहरुको मन हल्का/फुल्का बनाउने छन् ।


तेस्रो एल्बम 'सतह टु' ले राम्रो बजार नपाएपछि सविन तीन वर्ष भूमिगत सरह बसेका थिए । यो ग्यापले उनलाई 'रङ्गमञ्चको रङ्ग' लाई सुन्दर टीका लगाउन समय दियो । 'रङ्गमञ्चको रङ्ग' ले उनलाई चर्चाको शिखरमा पुर्‍याउने 'सतह' को उचाइ त भेट्न नसक्ला तर गायकलाई श्रोताको प्रेम भने अवश्य दिलाउनेछ ।

No comments:

Post a Comment